साइन रेसुंगा बैंककाे खुद व्याज आम्दानी बढेसँगै बढ्याे नाफा

साइन रेसुंगा बैंककाे खुद व्याज आम्दानी बढेसँगै बढ्याे नाफा


बैंकिङ्ग समाचार,काठमाडौं ।
साइन रेसुंगा विकास बैंक लिमिटेडलेचालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा र इपीएस वृद्धि भएको छ ।

चालुआर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३४ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३३.५९ प्रतिशतले बढि हो । खुद व्याज आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । सो अवधिमा बैंकको इम्पेरेमेन्ट चार्ज भने बढेको छ ।

समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी ४१.५३ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानी १७.७४ प्रतिशतले र सञ्चालन मुनाफा ३४.०८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी समीक्षा अवधिमा बैंकको निष्किृय कर्जा १.२७ प्रतिशतबाट घटेर ०.९८ प्रतिशतमा झरेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २१ करोड ८० लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ३२ पैसाबाट बढेर १८ रुपैयाँ ४५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.४४ गुुणा रहेको छ भने प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सो बैंकको चुक्ता पूँजी १०.९३ प्रतिशतले बढ्दा जगेडा कोष ४.९३ प्रतिशतले घटेको छ । सो अवधिमा बैंकको निक्षेप १२.०२ प्रतिशत र कर्जा १५.४७ प्रतिशत बढेको छ ।