नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा सामान्य बढ्दा प्रतिशेयर आम्दानी घट्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा सामान्य बढ्दा प्रतिशेयर आम्दानी घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले एक अर्ब ६२ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३८ प्रतिशतले मात्र बढेको हो  । बैंकको खुद ब्याज आम्दानी घटेसँगै सञ्चालन मुनाफामा सन्तोषजनक रुपमा सुधार नहुँदा बैंकको नाफामा दबाब पुगेको देखिन्छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले एक अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३० प्रतिशतले घटेर दुई अर्ब ४० करोड ६९ लाख रुपैयाँमा झरेको छ । यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी ३४.५० प्रतिशत र सञ्चालन मुनाफा ३.२७ प्रतिशतले बढेको छ । 

यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड ५७ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ३४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।

यस्तै बैंकको नाफा सामान्य बढेपनि प्रतिशेयर आम्दानी घटेको छ । यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ९७ पैसा घटेर १७ रुपैयाँ ७४ पैसा कायम भएको छ । त्यसैगरी बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.९२ गुणा रहेको छ ।