पोखरा फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा मुनाफा ६९ प्रतिशतले घट्यो

पोखरा फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा मुनाफा ६९ प्रतिशतले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
पोखरा फाइनान्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६९ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ९ करोड ६८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड ९६ लाख १६ हजारमा सिमित भएको हो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै नाफा घटेको हो । गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी १८ प्रतिशत र सञ्चालन नाफा ६९ प्रतिशत घटेको छ । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४ करोड ९ लाख रहेको छ भने जगेडामा रू. २९ करोड २७ लाख ६७ हजार  र रिटेन्ड अर्निङमा रू.४ करोड १९ लाख २८ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । 

गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव १२ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५ दशमलव ६९ मा झरेको हो । त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९ अर्ब ५८ करोड ७६ लाख निक्षेप संकलन गरेर रू. ७ अर्ब ५४ करोड ३० लाख कर्जा लगानी गरेको छ । सोही अवधिमा कम्पनीको वितरणयोग्य नाफा भने रू. ४ करोड १९ लाख २८ हजार रहेको छ । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात १०४ दशमलव १५, तरलता अनुपात २८ दशमलव ९९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१३२ दशमलव १५ रहेको छ ।