माछापुच्छ्रे बैंकको नाफामा २६ प्रतिशतको बढोत्तरी, ईपीएस पनि बढ्यो

माछापुच्छ्रे बैंकको नाफामा २६ प्रतिशतको बढोत्तरी, ईपीएस पनि बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष यही अवधिसम्म बैंकले ८० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले समीक्षा अवधिसम्म बैंकले २५.९२ प्रतिशतले नाफा बढाउन सफल भएको छ । 

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा पनि २५.६३ प्रतिशतले बढेर १ अर्ब ४५ करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब १५ करोड रुपैयाँ सीमित थियो ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि बढेर २ अर्ब २४ करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ९८ करोड रुपैयाँमा सीमित थियो । बैंकले रिजर्भको आकार १४.१८ प्रतिशत बढाएर २ अर्ब ८६ करोड रुपैयाँको उचाइमा पुर्याउन सफल भएको छ । गत वर्ष यही अवधिसम्म रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

बैंकले यो अवधिसम्म १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा खराब कर्जा दर (एनपीएल) घटाएर ०.५७ प्रतिशतमा सीमित गरेको छ । गत वर्ष यही अवधिमा एनपीएल ०.७६ प्रतिशत रहेको थियो । सीडी रेसियो ८८.२१ प्रतिशत रहेको बैंकको आधार दर ८.७९ प्रतिशत रहेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.७१ रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा ईपीएस १५.६५ रुपैयाँ रहेको थियो । पीई रेसियो १६.८४ गुणा रहेको प्रतिसेयर नेटवर्थ १३४.५ रुपैयाँ र कुल सम्पत्तिमा प्रतिफल १.१६ प्रतिशत रहेको छ ।