कुमारी बैंकको नाफा २२ प्रतिशतले घट्यो, इपिएस १३ रुपैयाँ मात्र

कुमारी बैंकको नाफा २२ प्रतिशतले घट्यो, इपिएस १३ रुपैयाँ मात्र


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.७७ प्रतिशत कम हो । खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेको र गैर सञ्चालन आम्दानी घटेका कारण बैंकको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.०३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २१.३५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोड १६ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा सञ्चालन मुनाफा घट्न गई खुद नाफा घट्न दबाब पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ५३ पैसाबाट घटेर १२ रुपैयाँ ९४ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८० पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष ९.४८ प्रतिशत घटेको छ । सो अवधिमा बैंकको निक्षेप ९.५९ प्रतिशत र कर्जा १३.१० प्रतिशत बढेको छ ।