सिभिल बैंकको नाफामा उल्लेख्य वृद्दि, १४८ प्रतिशतको छलाङ

सिभिल बैंकको नाफामा उल्लेख्य वृद्दि, १४८ प्रतिशतको छलाङ


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको शुक्रबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशत बढी हो ।

खुद ब्याज आम्दानी लगायत आम्दानीका सबैजसो शीर्षक बढाएको बैंकको गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० करोड रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५ करोडमा झर्दा बैंकको नाफा वृद्धिमा सहयोग पुगेको हो । यस अवधिमा बैंकले ६९ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्ष ४.८३ रहेको बैंकको इपीएस यो वर्ष ११.६६ रहेको छ । बैंकले ६ महिनामा १ अर्ब ४६ करोड ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको ब्याज आम्दानी ९३ करोड थियो । यस अबधिमा बैंकले  पुस मसान्तसम्म ९१ अर्ब ६९ करोड निक्षेप संकलन गरेर ८३ करोड कर्जा दिएको छ । बैंकले अघिल्लो वर्षको भन्दा खराब कर्जा अनुपात (एनपीएल) घटाउन सफल भएको छ ।

अघिल्लो वर्ष १.७० प्रतिशत रहेको एनपीएल ०.९४ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ८८.८८ प्रतिशत रहेको सिभिल बैंकको बेसरेट भने अघिल्लो वर्षभन्दा बढेको छ । अघिल्लो वर्ष ८.४५ प्रतिशत रहेको बेसरेट यो वर्ष ९.७४ प्रतिशत रहेको छ । बैंकले ३.०५ प्रतिशत स्प्रेडदरमा कायम राखेको छ ।