५ कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति

५ कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न ५ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बुधबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले ५ वटा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिने निर्णय गरेको हो । 

बोर्डले बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता  आईपीओ निष्कासन गर्न असार २० गते सेबोनमा निवेदन पेश गरेको थियाे । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ६ गते सेबोनमा निवेदन पेश गरेको थियाे । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। 

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते सेबोनमा निवेदन दिएको थियाे । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको थियाे  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको थियाे  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।