ग्लोबल आइएमई लघुवित्तको खुद नाफा २२% ले बढ्यो, ईपीएस साढे ५३ रुपैयाँ कायम

ग्लोबल आइएमई लघुवित्तको खुद नाफा २२% ले बढ्यो, ईपीएस साढे ५३ रुपैयाँ कायम


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २२.२५ प्रतिशतले वृद्धि गरेको छ । ग्लोबल आइएमई बैंकको ७० प्रतिशत लगानी रहेको यस लघुवित्तले पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १२ करोड ९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत बैशाख ३ गतेदखि स्पर्स लघुवित्तलाई प्राप्ती गरी एकीकृत कारोबार गरेको लघुवित्तको चुक्ता पूँजी बढेसँगै वार्षिक प्रतिसेयर आम्दानी भने १९.६० रुपैयाँले घटेकाे हाे ।

चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५३.५३ रुपैयाँ छ । समीक्षा अवधिमा पूँजी ६७ प्रतिशत बढ्दा इपिएस १९.६० प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप ५८.५० प्रतिशत, सापटी ४७.७८ प्रतिशत, कर्जा लगानी ७१.६४ प्रतिशत, खुद ब्याज आम्दानी ५५.९९ प्रतिशत, सञ्चालन मुनाफा १३.१२ प्रतिशत, जगेडा कोष ९४.४३ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले सदस्यहरुबाट २ अर्ब ५२ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक वित्तीय संस्थाहरुबाट ४ अर्ब ६५ करोड २ लाख रुपैयाँ सापटी लिएर ७ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसबाट लघुवित्तले ३० करोड ३७ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १५ करोड ७ लाख ९ हजार सञ्चालन नाफा गरेको छ । सम्भावित कर्जा नोक्सानीमा ९ करोड ३२ लाख रुपैयाँ व्यवस्था गरेको लघुवित्तले ८ करोड ४० लाख रुपैयाँ असुली गरेको छ ।