सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र इपीएस दुबैमा आकर्षक वृद्धि

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र इपीएस दुबैमा आकर्षक वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा र ईपीएस दुबै बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.८७ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज उल्लेख्य घटेपछि बैंकको नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.८१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.१८ प्रतिशत र सञ्चालन मुनाफा ६८.१६ प्रतिशत बढेको छर समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.४३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेसँगै इम्पेरमेन्ट चार्ज ७४.७८ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४ पैसाबाट बढेर १७ रुपैयाँ ३९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ४.४१ प्रतिशत घटेको छ । सो अवधिमा बैंकको निक्षेप ९.८८ प्रतिशत र कर्जा २२.४४ प्रतिशत बढेको छ ।