२५ प्रतिशत बढ्यो निफ्राको नाफा, वितरणयोग्य नाफा ३४ करोडभन्दा बढी

२५ प्रतिशत बढ्यो निफ्राको नाफा, वितरणयोग्य नाफा ३४ करोडभन्दा बढी


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक अर्थात निफ्राले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.६६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्ष बैंकको वितरणयोग्य नाफा पनि २६ दशमलव ३० प्रतिशत बृद्धि भएको छ । गत वर्ष २७ करोड ६० लाख ४८ हजार रुपैयाँ  रहेको वितरणयोग्य नाफा यस वर्ष ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.५६ प्रतिशत र सञ्चालन मुनाफा २५.५७ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ रुपैयाँ ८७ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ४ रुपैयाँ ४३ पैसामा झरेको छ । चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब पुगेका कारण समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी घट्न पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको जगेडा कोष ७.५९ प्रतिशत बढेको छ भने निक्षेप तथा सापटी १३३.७५ प्रतिशत र कर्जा ६५.२१ प्रतिशत बढेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेको छ ।