एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ । कम्पनीले माघ ३ गतेदेखि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गरेको हो । उक्त ऋणपत्रमा आवेदन दिने छिटो अवधि आज (बिहीवार) सम्म रहेको भएपनि उक्त ऋणपत्रमा पूर्ण आवेदन नपरेकोले ढिलो अवधि अर्थात् माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामको ऋणपत्र निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

कुल कित्तामध्ये रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने कम्पनी आफैंले व्यक्तिगत तवरबाट विक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।

सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । ८ वर्षे अवधिको उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीको उक्त ऋणपत्रलाई केयर रेटिङ नेपालले कम कर्जा जोखिमको संकेत गर्ने  ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

कम्पनीले उक्त ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २० गते अनुमति पाएको हो ।