आरएमडीसी लघुवित्तको आजदेखि नगद लाभांश वितरण हुने, बैंक खाता अद्यावधिक गराउन आग्रह

आरएमडीसी लघुवित्तको आजदेखि नगद लाभांश वितरण हुने, बैंक खाता अद्यावधिक गराउन आग्रह


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने निर्णय गरेको नगद लाभांश माघ ६ गतेदेखि वितरण गर्न सुरु गरेको छ । कम्पनीले यस वर्ष कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस ३० गते सम्पन्न २३औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । 

सो सभाले २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव समेत पारित गरेको थियो । सो २० प्रतिशत बोनस शेयरमा लाग्ने कर वापतको रकम कटाएर बाँकी लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरिएको जानकारी कम्पनीले दिएको छ ।

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिनेछ । नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गरिने हुँदा हालसम्म बैंक खाता अद्यावधिक नगरेका शेयरधनीहरुलाई यथासिघ्र गराउन समेत कम्पनीले अनुरोध गरेको छ । 

लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम  शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।  यस वर्ष कम्पनीले गत वर्ष भन्दा ५ प्रतिशत बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।