नाफासँगै फर्स्ट माइक्रोफाइनान्सको ईपीएस बढ्यो

नाफासँगै फर्स्ट माइक्रोफाइनान्सको ईपीएस बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.११ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५०.०४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४५.११ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै लघुवित्तको ईपीएस पनि बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ रुपैयाँ २५ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ ४१ पैसा बढेर २१ रुपैयाँ ६६ पैसा पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ५.०३ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सापटी १०.७७ प्रतिशत बढेको छ भने कर्जा २०.७५ प्रतिशत बढेको छ ।