एफपीओ निष्कासनको तयारीमा रहेको नयाँ सारथी लघुवित्तको वित्तीय अवस्था

एफपीओ निष्कासनको तयारीमा रहेको नयाँ सारथी लघुवित्तको वित्तीय अवस्था


बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।

कम्पनीले ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ प्रतिकित्ता रू. ११६ मा निष्कासन गर्ने तयारीमा रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते निवेदन दिएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ४९ लाख ५४ हजार रहेको छ । एफपीओ निष्कासन पछि पूँजी रू. २९ करोड ३१ लाख भन्दा बढी पुग्नेछ । 

कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ६५ लाख ५० हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव ९ प्रतिशत घटेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ६७ लाख ४८ हजार नाफा कमाएको थियो । 

त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको पहिलो त्रैमासमा रू. २८ करोड २६ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ९ लाख धनात्मक भएको हो । 

कम्पनीले जगेडामा रू. २३ करोड ७७ लाख सञ्चित गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ७० करोड ७० लाख सापटि लिएर, रू. ८६ करोड ९३ लाख ७३ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब ८८ करोड ४७ लाख ३९ हजार कर्जा लगानी गरेको हो । 

त्यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव २८ वार्षिकिकरण, तरलता अनुपात ५ दशमलव ३३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव २७ रहेको छ ।