महालक्ष्मी विकास बैंकको साधारण सभा पुनः स्थगित

महालक्ष्मी विकास बैंकको साधारण सभा पुनः स्थगित


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले आज अर्थात माघ ३ गते डाकेको बिसौँ वार्षिक साधारण सभा पुनः स्थगित भएको छ।

बैंकको २०औं वार्षिक साधारण सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतका विरुद्ध उच्च अदालत पाटमा रिट दायर गरेका थिए । उक्त रिटका सम्बन्धमा अन्तरिम छलफलका लागि माघ ३ गतेका लागिनै पेशी तोकिएको स्थितिमा वार्षिक साधारण सभा गर्न नसकिने जानकारी बैंकले दिएको छ । अदालतको अर्को आदेश नभएसम्मका लागि सभा स्थगित हुने जानकारी बैंकले दिएको छ ।

गणपुरक संख्या नपुगेका कारण पुस २५ गते स्थगित भएको साधारण सभा, बैंकले माघ ३ गते डोकेको थियो । तर, सो सभा पुनः स्थगित भएको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस शेयर र लाभांशमा लाग्ने कर सहित १।०५ प्रतिशत अर्थात तीन करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो प्रस्ताव पारित गर्न बैंकले आज साधारण सभा डाकेको थियो ।

सभाले लाभांश प्रस्तावका साथै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने कार्यक्रम राखेको थियो ।