बुटवल पावरसहित ३ ओटा कम्पनीको साधारण सभा सोमवार हुँदै

बुटवल पावरसहित ३ ओटा कम्पनीको साधारण सभा सोमवार हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
तीन अलग-अलग कम्पनीको साधारण सभा सोमवार हुने भएको छ ।

बुटवल पावर कम्पनी, एनएमबि लघुवित्त वित्तीय संस्था र रसुवागढी हाइड्रोपावर कम्पनीले साधारण सभा गर्न लागेका हुन् । बुटवल पावर कम्पनीले २९औं वार्षिक साधारण सभा सोमवार कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बुक क्लोज पुस ११ गते देखि २६ गतेसम्म बन्द गरेको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी एनएमबि लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा सोमवार होटल पोखरा ग्राण्ड पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले २१ दशलमव ५० प्रतिशत बोनस शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गते देखि २६ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

त्यसैगरी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमवार बिहान ११ बजे सभा स्मार्ट क्याफे धुम्रबाराही, काठमाठौंको हलमा हुने जानकारी गराएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन  तथा थप ऋण लिन स्वीकृती  प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।