सिद्धार्थ बैंक, आरएमडिसी लघुवित्त, सेन्ट्रल फाइनान्सको शेयरमूल्य समायोजन

सिद्धार्थ बैंक, आरएमडिसी लघुवित्त, सेन्ट्रल फाइनान्सको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
पुस १८ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिद्धार्थ बैंक, आरएमडिसी लघुवित्त र सेन्ट्रल फाइनान्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन सिद्धार्थ बैंकको १४.२५ प्रतिशत, आरएमडिसी लघुवित्तको २० प्रतिशत र सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात सिद्धार्थ बैंकको शेयरमूल्य ४०६ रुपैयाँ १३ पैसा, आरएमडिसी लघुवित्तको १ हजार १४३ रुपैयाँ ३३ पैसा र सेन्ट्रल फाइनान्सको ३८२ रुपैयाँ ८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार दोस्रो बजारमा सिद्धार्थ बैंकको शेयर प्रतिकित्ता ४६४ रुपैयाँ, आरएमडिसस् लघुवित्तको १ हजार ३७२ रुपैयाँ र सेन्ट्रल फाइनान्सको ४११ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

आज यही मूल्यलाई आधार मानेर यी कम्पनीहरुको दोस्रो बजारमा कारोबार खुल्नेछ।

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न पुस ३० गते शुक्रबार, सिल्भर ओक बैङक्वेट, गैह्रिधारा, काठमाडौँमा बीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ भने उपस्थिति पुस्तिका बिहान ९ बजेदेखि नै खुला राखिने बैंकले जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, आरएमडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे, अमृतभोग क्याटरिङ्ग, कालिकास्थानमा २३ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर सहित) गरी २५ प्रतिशत लाभांश पारित गर्नेछ। लघुवित्तले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण अख्तियार सञ्चालक समितिले दिने प्रस्ताव समेत पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ।

सेन्ट्रल फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ३.३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले पुस ३० गते, आफ्नो केन्द्रिय कार्यालय, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।