६ जीवन बीमा कम्पनीको लाभांश प्रस्ताव

६ जीवन बीमा कम्पनीको लाभांश प्रस्ताव


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । तर अधिकांश जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले भने अहिलेसम्म लाभांश प्रस्ताव गरेका छैनन् । अझ जीवन बीमा कम्पनीहरुले त अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश समेत प्रस्ताव गर्न सकेका छैनन् ।

बीमा समितिको निर्देशन अनुसार नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण समयमै तयार पार्न नसक्दा जीवन बीमा कम्पनीहरुको लाभांश प्रस्तावमा ढिलाई भैरहेको समितिले जनाएको छ । परम्परागत विधिबाट वित्तीय विवरण तयार पार्दै आइरहेका बीमा कम्पनीहरुलाई बीमा समितिले आर्थिक वर्ष २०७४/७५ देखि अनिवार्य रुपमा एनएफआरएस प्रणाली लागू गर्दै सोही अनुरुप वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो ।

हाल नेपालमा १९ जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । बीमा समितिबाट त्यसमध्ये ११ वटा जीवन बीमा कम्पनीहरुले मात्रै आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन स्वीकृति पाएका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, एशियन लाइफ, मेट लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले बीमांकिय प्रतिवेदन स्वीकृती पाएका हुन् ।

ती कम्पनीहरुले बीमितलाई दिने बोनस दर समेत सार्वजनिक गरिसकेका छन् भने नेप्सेमा सूचीकृत ६ वटा कम्पनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश समेत प्रस्ताव गरिसकेका छन् ।

छ जीवन बीमा कम्पनीको लाभांश घोषणा:

समितिबाट वित्तीय विवरण स्वीकृत भएकामध्ये ६ वटा जीवन बीमा कम्पनीहरुले मात्रै अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् ।

हालसम्म लाभांश प्रस्ताव गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल, प्राइम लाइफ, सूर्या लाइफ, एशियन लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफले मात्रै अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् ।

सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ। एशियन लाइफले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

एशियनपछि एलआईसी नेपालले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यस्तै, प्राइम लाइफले १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद गरी १५.८७ प्रतिशत, सूर्या लाइफले १२ प्रतिशत बोनस शेयर र ज्योति लाइफले ५ प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद गरी १०.२५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

सबैभन्दा कम भने रिलायन्स लाइफको रहेको छ । रिलायन्स लाइफले ५.२६ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।

त्यस अनुसार अझै नेपाल लाइफ, नेशनल लाइफ, गुराँस लाइफ, युनियन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले लाभांश प्रस्ताव गरेका छैनन् । त्यसमध्ये नेशनल लाइफ र प्रभु लाइफले वित्तीय विवरण बीमा समितिबाट स्वीकृत गरासकेको समितिले जनाएको छ ।

यस्तै, नेपाल लाइफ पनि वित्तीय विवरण स्वीकृतिको लागि समिति पुगेको छ भने बाँकी कम्पनीहरुले अझै वित्तीय विवरण तयार पार्न सकेका छैनन् ।