धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले पुनः खुलायो आवेदन

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले पुनः खुलायो आवेदन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको प्रक्रिया पुनः सुरु गरेको छ ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल (सम्बन्धित क्षेत्र हेर्ने सदस्य) को संयोजकत्वमा गठित समितिले बुधबार सूचना प्रकाशन गर्दै १५ दिन अर्थात पुस २९ गतेभित्र बोर्ड अध्यक्षका लागि आवेदन दिन आह्वान गरेको छ ।

बिहीबार प्रकाशित सूचनामा मन्त्रालयको मिति २०७७ कार्तिक ११ को सूचना बमोजिम नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन गर्नुहने आवेदकले समेत यसै सूचना बमोजिम पुनः यस म्यादभित्र आवेदन गर्नुहुन र पूर्ववतः आवेदन दिएका कुनै आवेदकले यदि उक्त आवेदन फिर्ता लिन चाहेमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सिफारिस समिति समक्ष निवेदन दिई फिर्ता लिन सकिने सूचनामा उल्लेख छ ।

चार वर्ष कार्यकाल हुने बोर्डको अध्यक्ष कार्यकारी पद हो । बोर्डको अध्यक्ष हुनका लागि कुनै विशिष्टिकृत विषयको अध्ययनको आवश्यकतामा ऐनले जोड नदिई स्नातकोत्तर उपाधि हासिल गरेको नेपाली नागरिक अध्यक्ष हुनसक्ने व्यवस्था धितोपत्र ऐन २०६३ ले गरेको छ । तर, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको तथा धितोपत्र ऐन २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ ।

पौडेल नै संयोजक रहेको छनोट समितिको गठन प्रक्रियामा नै विवाद देखिएपछि यसअघि कार्तिकमा गठित उक्त समितिलाई मंसिरमा मन्त्रिपरिषद्ले उक्त समितिलाई खारेज गरेको थियो । अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले पुनः पौडललाई नै संयोजक तोकेर छनोट समिति बनाएको हो । उक्त छनोट समितिमा विज्ञ सदस्य को रुपमा त्रिभुवन विश्वविद्यायलका प्रोफेसर डा. जीवनाथ धिताल, अर्थ मन्त्रालयका प्रतिनिधि मधु मरासिनी रहेको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।

अर्थमन्त्रलायले यसअघि २०७८ कार्तिक ११ देखि खुलाएको आवेदनमा बोर्डको अध्यक्षका लागि बोर्डकै कार्यकारी निर्देशक, नेप्सेका पूर्व सीईओ, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकदेखि लगानीकर्ता सहित कुल १२ जनाको आवेदन परेको थियो ।

पूँजीबजारको नियामक निकाय बोर्डको अध्यक्ष छनौट हुन नसक्दा साधारण सेयर निष्कासन (आइपीओ) अनुमतिदेखि बैंकलाई ब्रोकर लाइसेन्स दिनेसम्मका कामहरू रोकिन पुगेका छन् । बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा तत्कालीन बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना मुछिएपछि २०७८ असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

यसरी हुन्छ अध्यक्ष चयन:
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनौटका लागि अर्थसचिव मरासिनी र विज्ञ सदस्य डा. जीवनाथ धिताल सहितको समिति गठन गरेको छ ।

बोर्डको अध्यक्षको छनोट समिति सरकारबाट निमार्ण हुनुपर्नेमा यसअघि अर्थमन्त्रालयबाट समिति गठन भई प्रकृया अगाडि बढाइएकोमा कानूनी रुपमा विवाद देखिएपछि मन्त्रिपरिषद्को बैठकले छनोट समिति गठन गरी बुधबार पुनः आवेदन माग गरेको हो ।

गठित समितिले कार्यविधि बनाई आवेदन आह्वान गर्ने व्यवस्था अनुसार बुधबार आवेदन खुला भएको हो । समितिले आवेदन मागिसकेकाले अब बाँकी सम्पूर्ण काम छनोट समितिबाटै टुङ्गो लाग्नेछ ।

समितिले कुल आवेदक मध्येबाट योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम छनौट गरी योग्यता पुगेका ३ जना मध्ये एकलाई नियुक्त गर्न सरकारलाई सिफारिस गर्छ । सोही सिफारिसमध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ ।