मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त सहित ५ कम्पनीको शेयरमूल्य समायोजन

मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त सहित ५ कम्पनीको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
पुस १५ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा मञ्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, समिट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले यस दिन मञ्जुश्री फाइनान्सको ४० प्रतिशत, एनआरएनको ५ प्रतिशत, समिट लघुवित्तको २५.२८ प्रतिशत, इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत र चिलिमे हाइड्रोपावरको ७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात मञ्जुश्री फाइनान्सको शेयरमूल्य ६७० रुपैयाँ ७१ पैसा, एनआरएनको ५११ रुपैयाँ ४३ पैसा, समिट लघुवित्तको १ हजार १६५ रुपैयाँ ३४ पैसा, इन्फिनिटी लघुवित्तको १ हजार ३०७ रुपैयाँ ७५ पैसा र चिलिमे हाइड्रोपावर ४६७ रुपैयाँ ८१ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार मञ्जुश्री फाइनान्सको शेयर प्रतिकित्ता ९३९ रुपैयाँ, एनआरएनको ५३७ रुपैयाँ, समिट लघुवित्तको १ हजार ४६० रुपैयाँ, इन्फिनिटी लघुवित्तको १ हजार ६७० रुपैयाँ र चिलिमे हाइड्रोपावरको ५०२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर पुस १८ गते आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

मञ्जुश्री फाइनान्स (MFIL) ले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न आफ्नो कार्यालय, नयाँ बानेश्वरमा पुस २९ गते, बिहीबार चौधौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँर्ग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश पारित गर्न पुस २९ गते बिहान ११ बजे आम्रपाली ब्यान्क्वेट, काठमाडौंबाट र्भच्युअल माध्यममा ९ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ। कम्पनीले हालको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ। यस्तै सभाले दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत अनुमोदन गर्नेछ।

त्यसैगरी, समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न पुस २४ गते शनिबार, आँबुखैरेनी रेष्टुराँ एण्ड पार्टी प्यालेस, आँबुखैरेनी, तनहुँमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २५.२८ प्रतिशत बोनस शेयर वितरण गर्ने, सजिलो लघुवित्त र समीट लघुवित्त एक आपसमा मर्ज र बोनस शेयर जारी गरेपश्चात संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातमा मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७१२ कित्ता साधारण शेयर प्रिमियममा एफपीओ जारी गर्ने, सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य लघुवित्त वित्तीय संस्थासंग मर्ज अथवा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

यसका साथै कम्पनीको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश पारित गर्न लघुवित्तले पुस २७ गते मंगलबार होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा पाँचौं वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २३ गते शुक्रबार २५ औँ वार्षिक साधारण सभा डाकेको छ।