बुधबार नेप्सेमा तीन कम्पनीहरुको शेयरमूल्य समायोजन

बुधबार नेप्सेमा तीन कम्पनीहरुको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
पुस १४ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा यस दिन मितेरी डेभलपमेन्ट बैंक, उन्नती सहकार्य लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत, उन्नती सहकार्यको ३० प्रतिशत र नेपाल पुनर्बीमाको १६.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य ४४३ रुपैयाँ ७ पैसा, उन्नती सहकार्यको १ हजार ४८८ रुपैयाँ ४६ पैसा र नेपाल पुनर्बीमाको १ हजार १०४ रुपैयाँ ७२ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा मितेरी डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता ५०२. रुपैयाँ, उन्नती सहकार्यको १ हजार ९३५ रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १ हजार २८७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आज यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुलेको छ।

मितेरी डेभलपमेन्ट बैंकले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघ, धरानमा १६ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश पारित गर्नेछ। यस्तै, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धमा सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिका प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न पुस २८ गते, होटल मौर्या, रुपन्देहीमा सातौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बानेस शेयर वितरण गर्ने, सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ ३ पैसा बराबरको एफपीओ निष्काशन गर्ने, अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २२ गते, बिहीबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा छैठौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशतका दरले बोनस शेयर र २.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।