मेगा बैंक र आईसिएफसि फाइनान्सको नगद लाभांश वितरण

मेगा बैंक र आईसिएफसि फाइनान्सको नगद लाभांश वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंकको चुक्ता पूँजीको २.०७ प्रतिशत नगद र आईसिएफसि फाइनान्सको ४ प्रतिशत नगद लाभांश वितरण भएको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि बुकक्लोजको अघिल्लो दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका लगानीकर्ताको बैंक खातामा साधारण सभा सम्पन्न भएको दिनदेखि नै नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत उक्त नगद लाभांश जम्मा गरिएको दुबै संस्थाले जनाएका छन् ।

मेगा बैंकले मंसिर २८ गतेदेखि र आईसिएफसि फाइनान्सले पुस ५ गतेदेखि नै साधारण सभाका लागि बुकक्लोज भएको मितिसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको खातामा जम्मा गरेको जनाएका छन् ।

बैंकको मंसिर २८ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश तथा फाइनान्सको पुस ५ गते सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो ।

साधारण सभाका लागि बैंकले मंसिर १४ गते मंगलबार तथा फाइनान्सले मंसिर २३ गते बिहीबार सेयर दाखिल खारेजी गरेका थिए । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीको बैंक खातामा बोनस तथा नगद लाभांशमा लाग्ने कर कट्टी गरी क्लियरिङ्ग हाउसको आईपिएस मार्फत लाभांश जम्मा गरिएको हो ।

बुकक्लाेज मितिपछि बैंक खाता अद्यावधिक गराउने लगानीकर्ताहरुको हकमा समेत क्रमशः नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामै जम्मा गरिदैं जाने जनाइएको छ । यस्तै हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशीघ्र बैंक खाता अद्यावधिक गराउन पनि दुबै संस्थाले सेयरधनीहरुलाई आग्रह गरेका छन् ।

साथै दुबै संस्थाले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई यथाशीघ्र शेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्न आग्रह समेत गरेका छन् ।

यस्तै सेयर धितो राखेका शेयरधनीहरुले भने लाभांश पाउन सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र सम्बन्धीत संस्थाको शेयर रजिष्ट्रार कहाँ अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख छ ।

दुबै साधारण सभाबाट पारित बोनस सेयर भने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा सूचीकरण पश्चात बुकक्लोजको अघिल्लो दिनसम्म कायम लगानीकर्ताले पाउनेछन् । कागजी शेयर धारण नगरेका लगानीकर्ताहरुको बोनस शेयर पनि सिधै डिम्याट खातामा नै जम्मा हुनेछ ।