नबिल बैंक र नेपाल बङ्गलादेश बैंक मर्ज हुने अन्तिम प्रकृयामा

नबिल बैंक र नेपाल बङ्गलादेश बैंक मर्ज हुने अन्तिम प्रकृयामा


बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल र नेपाल बङ्गलादेश बैंक (एनबी बैंक)को मर्जर प्रक्रिया अगाडी बढ्ने भएको छ । नेपालको नम्बर १ अवस्थामा रहेको नविल बैंकले थप अर्को बैंकलाई आफूसँग गाभेर ठुलो बैंक बन्ने रणनीति लिएको हो । 

एनबी बैंकको बङ्गलादेशी साझेदार आईएफआईसीको सेयर विनोद चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गर्ने तयारी भएसँगै नविल एनबी मर्जर अघि बढेको हो । एनबी बैंकमा रहेको बङ्गलादेशको आईएफईसीको सेयर विनोद चौधरीले किन्ने पक्का भएपछि मर्जरले अन्तिम रूप पाउन लागेको हो । 

गत साता मात्र एनबी बैंकको साझेदार बङ्गाली लगानीकर्ताका प्रतिनिधि, सीईओ ज्ञानेन्द्र ढुङ्गाना र चौधरी ग्रुपका प्रतिनिधिसहित बसेर बङ्गलादेशको राजधानी ढाकामा छलफल भएको थियो । नबिल बैंक र नेपाल बङ्गलादेश बैंक (एनबी) को मर्जरले अन्तिम रूप पाउने भएको छ । 

दुवै बैंकले एक साताभित्र टुङ्गो लगाउने गरी वारपारको नीति लिएका छन् । आईएफईसीको सेयर विनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने सहमति बङ्गलादेशमै भएको छ । दुई बैंकको मर्जरलाई अन्तिम रूप दिन बिहीबार समझदारी हुने बुझिएको छ । सोको लागी  आईएफआईसीका प्रतिनिधिहरू नेपाल आउँदै छन् । 

सीईओ ढुंगाना सहितको टोलीले आईएफआईसीको धारणा बुझेर नेपाल आएपछि चौधरीसँग छलफल गरेका छन् । यसबिचमा दुगड समूह पनि सेयर किन्न अगाडी इच्छा देखाएको थियो । दुगड समूहले एनबीमा रहेको बङ्गाली लगानीकर्ताको सेयर किनेर सनराइज बैङ्कसँग मर्ज गर्ने प्रस्ताव राष्ट्र बैंकमा समेत लगेका थिए । तर, उनीहरू तत्कालका लागि पछि हटेका छन् । 

एनबीमा रहेको बङ्गलादेशको आईएफआईसी बैंकको सेयर खरिदमा चौधरीले एक वर्ष अगाडिदेखि चासो दिएका थिए । जसको लागि राष्ट्र बैंकले समेत ग्रिन सिग्नल दिइसकेको छ । आईएफआईसीले आफ्नो ४०.८९ प्रतिशत सेयर बिक्रीका लागि ताकेता गरिरहेको छ । उक्त सेयर बंगलादेशका सञ्चालकहरूले एनबी समूहका सदस्यलाई नै बिक्री गर्न चाहेका थिए । तर, राष्ट्र बैंकले नदिने भएपछि उक्त संस्थापक सेयरमा चौधरीले चासो दिएका थिए । आईएफआईसीको सेयर बिक्रीका लागि बङ्गलादेशबाट आईएफआईसीको टोलीले एक महिनाकै बिचमा दुई पटक काठमाडौँ आएर चौधरीसँग छलफल गरेको थियो । चौधरीले उक्त सेयर खरिद गरेपछि नबिल बैंक र एनबी बैंकको मर्जरको प्रक्रियाका लागि छलफल अगाडि बढ्नेछ । 

मर्जरपछि कुनको रेसियो कति हुने भन्ने विषयमा छलफल केन्द्रित हुने छ । अहिले आईएफआईसी बैंकको सेयर खरिद–बिक्री नै मुख्य चासो हो । बैंक मर्जरको कुरा आईएफआईसीको सेयरमा अड्किएको छ । उक्त विषय टुङ्गो लागेपछि दुवै बैंकले आफ्नो सम्पत्ति मूल्याङ्कन (डीडीए) गराउने छन् । त्यस लगत्तै सेयर रेसियो लगायत मर्जरको कुरा अगाडि बढ्ने छ । 

नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना र नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीलाई संयुक्त प्रस्ताव बनाउन दिइएको थियो । नेपालमा २७ वाणिज्य बैङ्कमध्ये अब्बल मानिन्छ नबिल बैंक । प्रत्येक सूचकमा १ नम्बर रहेको नबिको सेयर खरिद गर्न पनि लगानीकर्ताहरू लालायित नै हुने गरेका छन् । बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश घोषणा पनि नबिल नै अगाडि देखियो । नबिलले ३८ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । जुन सबैभन्दा धेरै हो । गत आर्थिक वर्षमा बैंकको लाभांश वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ छ ।