एक वाणिज्य बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन

एक वाणिज्य बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
पुस १२ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक वाणिज्य बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, विजय लघुवित्त र महुली लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने विजय लघुवित्तको २०.०३ प्रतिशत र महुली लघुवित्तको २६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयरमूल्य २६३ रुपैयाँ ४३ पैसा, विजय लघुवित्तको १ हजार २७२ रुपैयाँ १८ पैसा र महुलीको १ हजार ५०२ रुपैयाँ ३८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर प्रतिकित्ता, २८४ रुपैयाँ ५० पैसा, विजय लघुवित्तको १ हजार ५२७ रुपैयाँ र महुलीको १ हजार ८९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

सोमबार यही समायोजित मूल्यका आधारमा दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते, बिहीबार चौबीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल हार्दिक, बागबजारमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको २०.०३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस २४ गते, शनिबार गैडाकोट रिसोर्ट, गैडाकोट, नवलपरासीमा नवौँ वार्षिक साधारण सभा डाकेको छ।

सो सभाले अन्य वित्तीय संस्थालाई प्राप्त गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरु पारित गर्नेछ।

त्यसैगरी, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण र एफपिओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले पुस २४ गते, आफ्नो केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण, महुली, सप्तरीमा नर्वौ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे सभा डाकेको हो।
सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर वितरण गर्ने, प्रिमियममा एफपिओ निष्काशन गर्ने, अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, रिक्त रहेको सञ्चालक समितिमा भएको मनोनयन अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।