सेञ्चुरी बैंकको साधारण सभा पुस ३० गते हुने

सेञ्चुरी बैंकको साधारण सभा पुस ३० गते हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी बैंकले पुस ३० गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ८ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।  

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको लाभांशलाई पनि अन्तिम रुप दिनेछ । 

यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार रुपैयाँको आधारमा ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बोनस पश्चात बैंकको चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । बैंकले संस्थापक तर्फको हाल कायम शेयर स्वामित्वमध्य २ दशमलव ४१ प्रतिशत घटाउने प्रस्ताव पनि गरेको छ । 

बैंकले हाल कायम ५३ दशमलव ४१ प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गर्न लागेको हो । उक्त प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि बैंकले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।