वाणिज्य बैंकमा उच्च लाभांश प्रस्ताव गरेको नबिल बैंकले पुस ३० गते बोलायो साधारण सभा

वाणिज्य बैंकमा उच्च लाभांश प्रस्ताव गरेको नबिल बैंकले पुस ३० गते बोलायो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले पुस ३० गते ३७औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ८ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय परिसर नबिल सेन्टल, तीनधारा, दरवारमार्ग, काठमाडौंमा विहान ९ः३० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । 

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको कुल ३८ प्रतिशत लाभांशलाई पनि सभाले वितरणयोग्य बनाउनेछ । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रहेको छ । 

बैंकको यो वर्षको लाभांश विगत चार आर्थिक वर्षपछिकै उच्च हो । आर्थिक वर्ष ०७३/७४ मा ३० प्रतिशत बोनस शेयर र कर समेत १८ प्रतिशत नगद लाभांश गरी कुल ४८ प्रतिशत लाभांश वितरण गरेको यस बैंकले त्यस पछिका दुई आर्थिक वर्ष एउटै अनुपातमा अर्थात १२ प्रतिशत बोनस शेयर र कर समेत २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । 

यी प्रस्तावहरुसँगै संस्थापक समूहबाट दुई जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि बैंकले पुस १६ गते एक दिन  बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको अघिल्लो कारोबारदिनसम्म कायम शेयरधनीहरु मात्र बैंकको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।