सहकारीहरुको सन्दर्भ व्याजदर बढाउने तयारी, २ प्रतिशत सम्म ब्याज बढ्ने

सहकारीहरुको सन्दर्भ व्याजदर बढाउने तयारी, २ प्रतिशत सम्म ब्याज बढ्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।

सहकारीहरुको सन्दर्भ व्याजदर बढाउने तयारी भएको छ । सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिले हालको १४.७५ प्रतिशत सन्दर्भ व्याजदरलाई बढाएर १६.७५ प्रतिशतसम्म पुर्याउने तयारी गरेको हो ।

यसअघि सरकारले सहकारीहरुले कर्जा लगानी गर्दा १४.७५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने व्यवस्था गरेकोमा अहिले बजारमा तरलताको अभाव हुँदा समितिले सो निर्णय माथि पुनरावलोकन गर्न लागेको हो ।

नयाँ व्याजदर कति गर्ने भन्ने बारे भने छलफल भइरहेको बताइएको छ । तर, अहिले सहकारीकर्मीहरु न्यूनतम २ प्रतिशतसम्म सन्दर्भ व्याजदर बढाएर १६.७५ प्रतिशत कायम गर्नु पर्ने माग गरिरहेका छन् ।

यसअघि समितिले ऋण र बचतको व्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहनेगरी सन्दर्भ व्याजदर तोकेको थियो । तर, अहिले सो व्याजदरमा २ प्रतिशत बढाउने छलफल भइरहेको बताइएको हो । व्याजदर निर्धारण गर्नका लागि आगामी पुस १५ गते समितिको बैठक बस्ने बुझिएको छ । सोही बैठकले नयाँ व्याजदर बारे निर्णय गर्नेछ ।

अहिले सहकारीकर्मीहरुबाट पनि सहकारीहरुको सन्दर्भ व्याजदर बढाउने विषयमा छलफल भइरहेको छ । उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुले पनि व्याजदर बढाएको र सहकारीमा पनि बढाउन आवश्यक भएको चन्दै समतिलिाई व्याजदर बढाउन दवाव दिइरहेका छन् ।

सहकारी विभाग स्रोतका अनुसार पनि व्याजदर पुनरावलोकन सम्बन्धि तयारी भइरहेको छ । ‘अहिले व्याजदर पुनरावलोकन गर्ने कि भनेर तयारी भइरहेको छ, सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिको बैठक पुस १५ गते बस्दैछ, सोही बैठकले नयाँ व्याजदर निर्धारण गर्न सक्नेछ,’ विभाग स्रोतले भन्यो ।

सहकारी ऐन–२०७४ को दफा ५१ मा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । सहकारी विभागका रजिष्टार संयोजक रहेको समितिमा सहकारी मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रि सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रि सहकारी बैंक र सहकारी विभागकै उप–रजिस्टार सदस्य रहने व्यवस्था छ ।

समितिले वाणिज्य बैंकको व्याजदर, अर्थ मन्त्रालय र राष्ट्र बैंकले सार्वजनकि गरेका तथ्य तथ्यांकहरु र सहकारीहरुले दिएका सुझावहरुलाई लिएर नयाँ व्याजदर तोक्न सक्नेछ ।