राष्ट्र बैंकको पछिल्लो निर्देशनले निक्षेप बढेपनि आयात घट्ने संकेतः बैंकर ज्ञवालीको विश्लेषण

राष्ट्र बैंकको पछिल्लो निर्देशनले निक्षेप बढेपनि आयात घट्ने संकेतः बैंकर ज्ञवालीको विश्लेषण


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले विभिन्न १८ प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको छ। राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै नगद मार्जिन सम्बन्धि ब्यबस्था गरेको हो ।

नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवाली आजको निर्देशन मार्फत राष्ट्र बैंकले आयातलाई निरुत्साहित गर्न खोजेको बताउछन्  । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा आयातलाई नियन्त्रण गरी उल्लेख गरेको र अहिले त्यसको कार्यन्वयनको लागि एकिकृत निर्देशन आएको उनी बताउछन्  । आयात बढ्दै गएको, देशको विदेशी संचित घट्दै गएको , ७ महिनालाई मात्र आयात गर्न पुग्ने विदेशी संचिति रहेको अवस्थामा राष्ट्र बैंकले आयातलाई नियन्त्रण गरेको उनको भनाई छ  । 

उनका अनुसार यस अघि बैंकहरुले ५ देखि १० प्रतिशत नगद मार्जिनमा वा केहि बिना मार्जिन मै पनि एलसी खोलेर आयातको प्रोसेस सुरु गर्ने गरेका थिए  । अब भने ५ करोडको सामान आयात गर्नु पर्ने छ भने अग्रिम रुपमा नै ५ करोड नगद जम्मा गर्नु पर्ने छ  । यसले आयातलाई निरुत्साहित गर्ने उनको भनाई छ ।

राष्ट्र बैंकले विभिन्न १८ प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको छ। अर्थात् कुनै सामान आयात गर्दा १०० रुपैयाँ लाग्ने छ भने १०० रुपैयाँ नै मार्जिनको रुपमा राख्नु पर्ने छ । यसो गर्दा ब्यापारीले सामान आयात गर्दा थप नगदको ब्यबस्था गर्नु पर्ने छ । यसबाट आयात निरुत्साहित हुने राष्ट्र बैंकको विश्वास छ ।  

उल्लिखित मार्जिन रकम नगदका अतिरिक्त चल्ती/बचत/कल निक्षेप खाता खर्च (Debit) गरी वा भुक्तानीका माध्यम प्रयोग गरी समेत जम्मा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । मार्जिन रकममा व्याज प्रदान गर्न पाइने छैन । मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि कर्जा प्रवाह (स्वेदशी मुद्रामा समेत) गर्न पाइने छैन । यस्तो मार्जिन रकम  धरौटीको अतिरिक्त हुनेछ। राष्ट्र बैंकले तोकेका वस्तुहरु आयातका लागि अग्रिम भुक्तानी गर्न पाइने छैन । मार्जिन रकम प्रतीतपत्र खोल्दाकै अवस्थामा लिनु पर्नेछ र आयातको भुक्तानी गर्दा त्यस्तो मार्जिन रकम समेतलाई प्रयोग गर्न सकिनेछ। नेपाल सरकारका निकाय, कूटनीतिक नियोग र अस्पतालहरुले गर्ने आयातमा यो व्यवस्था लागू हुने छैन । 

साथै उद्योगहरुले आफ्नै प्रयोजनका लागि आफैले आयात गर्ने कच्चा पदार्थको हकमा लागू हुने छैन। औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा लागू हुने छैन । यस सम्बन्धमा आयातकर्ताबाट सोको स्वःघोषणा अनिवार्य रुपमा लिनु पर्नेछ ।

राष्ट्र बैंकले हर्मोनिक कोड अनुसार आयातमा कडाई गरेका सुची सार्वजनिक गरेको छ  । चुरोट, सुर्ती, परफ्युम, टोइलेट पेपर्स लगायतका सामानहरु यस भित्र पर्दछन्  । 

नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीको फेसबुकबाट