कारोबार रकम भने न्यून भएपनि आज शेयर बजारमा छायो हरियाली, नेप्से आज ५६.७३ अंकले बढ्यो

कारोबार रकम भने न्यून भएपनि आज शेयर बजारमा छायो हरियाली, नेप्से आज ५६.७३ अंकले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से आज भने हरियाली छाएको हो ।    

आज नेप्से ५६.७३ अंकले बढेर दुई हजार चार सय १५ दशमलब ५५ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा भने बढ्न सकेको छैन । आज दुई अर्ब ३८ करोड ३२ लाख बराबरको कारोबार सिमित भएको छ ।   

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावर रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको पनि ९ प्रतिशत भन्दा बढीले बढेर प्रतिकित्ता ५७१ र रसुवागढी हाइड्रोपावरको पनि बढेर प्रतिकित्ता ३५१.१० रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज १४ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ ।