नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयर बुधवारदेखि विक्रीमा आउने

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयर बुधवारदेखि विक्रीमा आउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर पुस ७ गते बुधवारदेखि विक्री खुला गर्ने भएको छ ।

कम्पनीले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी शतप्रतिशत हकप्रद शेयर विक्रीमा ल्याउन लागेको हो । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरु मात्र आवेदन दिनका लागि योग्य भएका छन् । 

कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री गर्ने भएको हो । यो हकप्रद शेयर खरीदका लागि पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर प्रयोगकर्ताहरुले सो मार्फत पनि आवेदन दिन सक्नेछन् ।

गत असार ४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि मंसिर ३ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीको यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ्ग प्र्रदान गरेको छ । यस अघि पनि कम्पनीले २०७७ साल माघ १३ गतेदेखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।

कम्पनीले २०७७ साल माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद निष्काशन गर्न कम्पनीलाई स्वीकृति दिएसँगै सोही अनुपातमा हकप्रद निष्कासनको स्वीकृति पाएको हो । पूँजी वृद्धिमा जोड दिईरहेको उक्त कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कुल सम्पत्ति रू. ३५ करोड २१ लाख ३४ हजार छ । 

गत वर्ष यसै अवधिसम्म कम्पनीको कुल सम्पत्ति रू. ३२ करोड ५७ लाख ७२ हजार थियो । यस वर्ष कम्पनीको कुल सम्पत्ति रकम पनि बढेको छ । पहिलो त्रैमाससम्म कम्पनीको  जगेडा कोष रकम रू. १७ करोड ८ लाख ४४ हजार र शेयर प्रिमियममा रू. २९ लाख ५६ हजार छ । यस अवधिसम्म कम्पनीले रू. ९ लाख ११ हजार खुद नोक्सानी व्यहोरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ४७ लाख ४ हजार खुद नोक्सानीमा थियो । 

यस वर्ष खुद नोक्सानी कम गर्न कम्पनी सफल भएको छ । पहिलो त्रैमाससम्म प्रतिशेयर नेटवर्थ रू. ६५ दशमलव ३९ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने २ दशमलव ७८ ऋणात्मक छ । हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापूँजी रहेको कम्पनीको हकप्रद शेयर निष्कासन पश्चात यो पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ ।