नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा नगद लाभांश वितरण, शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा नगद लाभांश वितरण, शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको लागि पारित गरेको ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ । बैंकले मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारण सभा मार्फत लाभांश पारित गरेको थियो । यस वर्ष बैंकले कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।  

बैंकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामै जम्मा हुनेछ भने कर कटाएर बाँकी नगद लाभांश भने बैंकले सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न सुरु गरेको हो ।

बैंकले मंसिर ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराईसकेका शेयरधनीहरुको हकमा सम्बन्धीत बैंक खातामै नगद लाभांश जम्मा गरिरहेको र सो अवधिपश्चात बैंक  खाता अद्यावधिक गराउनेहरुको हकमा समेत क्रमश जम्मा गरिदै जाने बताएको छ । यसर्थ हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथासिघ्र बैंक खाता अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।