कामना सेवा विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतना मूलक बोर्डहरु हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतना मूलक बोर्डहरु हस्तान्तरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
“समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत कामना सेवा विकास बैंक लि.द्वारा महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामुलक शाइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत श्री हरि प्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो । साथै, हस्तान्तरण कार्यक्रम पछि बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक श्री मिन बहादुर कुंवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामुलक बोर्डको अनावरण समेत गर्नु भएको थियो । उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ ।  

\"\"

बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्री दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री हरी प्रसाद लम्सालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा योगदान पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेकोमा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, महानगरीय प्रहरी वृत्त मालीगाउँलाई, ३० नंं वडा कार्यालय, लगायत सबैलाई धन्यवाद दिंदै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक श्री मिन बहादुर कुंवरले बैंकले आफ्नो व्यवसायको अतिरिक्त आफ्नो सामाजिक उत्तरदायित्व  सम्झि समुदायको हकहितको खातिर यस्ता महत्वपूर्ण कार्यहरु गरेकोमा आफूलाई निकै गर्व लागेको र यस्ता कार्यमा प्रहरी संधै साथमा रहने प्रतिबद्धता जनाउनु भएको थियो । यसै गरी वडा नंं. ३० का वडा अध्यक्ष श्री दल बहादुर कार्कीले बैंकले ट्राफिक बत्ती, न्यून आय भएका परिवारका बालबालिकाहरुलाई न्यानो लुगा तथा शैक्षिक सामाग्री वितरण, सरसफाई, वित्तीय साक्षरता अभियान सञ्चालन, शान्ति सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणको लागि जनचेतनामुलक पोष्टर तथा शाइनबोर्डहरु वितरण गरी समाजको लागि अनुकरणीय कार्यहरु गरेकोमा आफू तथा सम्पूर्ण वडाबासीहरुको तर्फबाट विशेष धन्यवाद दिनु भएको थियो ।