महालक्ष्मी विकास बैंकको २१.०५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस २५ मा साधारण सभा

महालक्ष्मी विकास बैंकको २१.०५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस २५ मा साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले पुस २५ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष बैंकले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ रहेको छ ।  

यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने बैंकले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।   

यी प्रस्तावसँगै बैंकले सञ्चालक समितिको बैठक भत्ता, दैनिक भ्रमण भत्ता लगाएतका अन्य सुविधलाई बृद्धि गर्ने र संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी कुल ६ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय गरेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।