सनराइज बैंक, प्रभु बैंक सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सनराइज बैंक, प्रभु बैंक सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सनराइज बैंक, प्रभु बैंक र मनकामना स्मार्ट लघुवित्तले पुस ४ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी तीन कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउनुका साथै यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस १५ गते आम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे चौधौं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशतको दरले हुन आउने ६३ करोड ९ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले हाल कायम अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट १५ रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ। बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुग्नेछ। यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुमा एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ।

त्यस्तै, प्रभु बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न बैंकले पुस १८ गते, आइतबार बीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभामा भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सभाले अन्य बैंकसँगै मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यता, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न पुस १९ गते, दिउँसो २ बजे, होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा चौथो वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत अर्थात २ करोड ५ लाख रुपैयाँ बराबरको बोनस शेयर पारित गर्नेछ। यस्तै, इजाजत प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्नको लागि संञ्चालक समितिले अख्तियारी समेत दिनेछ। सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको समेत चयन गरिनेछ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा सनराइज बैंकको शेयर प्रतिकित्ता २६८ रुपैयाँ १० पैसा, प्रभु बैंकको ३२८ रुपैयाँ र मनकामना स्मार्ट लघुवित्तको १ हजार ५०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।