प्रचण्डको अभिव्यक्ती पश्चात नेप्सेमा लगातार २ दिन पहिरो, आज करिब ८० अंकले घट्यो

प्रचण्डको अभिव्यक्ती पश्चात नेप्सेमा लगातार २ दिन पहिरो, आज करिब ८० अंकले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको नेप्से अन्ततः करिब ८० अंकले घटेर बन्द भएको हो ।

आज नेप्से ७९.२३ अंकले घटेर दुई हजार २ सय ८२ दशमलब १ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज ३ अर्ब ९९ करोड ५६ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ७७१.९० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज आठ शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर गुडवील फाइनान्स, आँखुखोला जलविद्युत, तेह्रथुम पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स र आइसीएफसी फाइनान्स रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत भन्दा बढीले घटेको छ । 

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज १८ करोड भन्दा बढीको कारोबार भएको छ ।

शेयर बजारको बारेमा बोल्दै शनिबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका थिए । पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए । यस अभिव्यक्ती पश्चात शेयर बजारमा भारी गिरावट आएको छ, शेयर बजारमा हिजो ८८ अंकको गिरावट आएको थियो ।