काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउप्रति निजी क्षेत्रका तीन वटै छाता संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई निजी क्षेत्रले समेत गम्भीरतापूर्वक लिएकाे छाता संगठनहरूले जनाएका हुन् । बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएका छन्।
तीनै निजी क्षेत्रका छाता संगठनहरुले विज्ञप्ति निकाल्दे कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरूलाई हतोत्साहित गरेर लगानीको वातावरण बन्न नसक्ने बताएका छन् । साथै छाता संगठनहरुले अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता रहेकाे पनि बताएका छन् । छाता संगठनहरूले उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्न आवश्यक रहेको औँल्याएका छन्। देशभित्र व्यावसायिक वातावरण खलबल्याउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ हामी सबैको पुनः ध्यानाकर्षण गराउन चाहन्छौँ जारी विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘कानुन विपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौँ । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने तर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
साथै संगठनहरुले विगतदेखिनै उजुरी वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने भन्दै आफूहरूले राख्दै आएको माग सरकारले नसुनेको आरोप लगाएका छन् । साथै विज्ञप्तिमा भनिएको छ ,‘उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो। थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौँ ।’
प्रतिक्रिया