आईपीओ निश्कासनको तयारीमा रहेको हिमालयन रिइन्स्योरेन्सको नाफा करिब ५ करोड

आईपीओ निश्कासनको तयारीमा रहेको हिमालयन रिइन्स्योरेन्सको नाफा करिब ५ करोड


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बिहीवार सार्वजनकि गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले उक्त अवधिसम्म रू. ४ करोड ७६ लाख ८० हजार खुद नाफा गरेको छ । अघिल्लो त्रैमासको अन्तिमसम्म कम्पनीले रू. ९४ लाख २६ हजार यो नाफा गरेको थियो । अघिल्लो त्रैमास अर्थात् असार मसान्तसम्मको तुलनामा असोज मसान्तसम्म कम्पनीको खुद नाफा ४०६ प्रतिशत वृद्धि भएको हो ।

अघिल्लो त्रैमाससम्म रू. २ करोड ३७ लाख ५७ हजार आम्दानी गरेको कम्पनीले यस त्रैमाससम्ममा रू. ७ करोड ९२ लाख ६५ हजार आम्दानी गर्न सफल भएको छ । खर्च रकम पनि अघिल्लो त्रैमाससम्ममा रू. १ करोड ४३ लाख ३१ हजार भएकोमा यो त्रैमाससम्म रू. ३ करोड १५ लाख ८४ हजार भएको छ ।

यस त्रैमाससम्ममा कम्पनीले रू. ८ करोड ८ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो त्रैमाससम्ममा रू. २ करोड ३९ लाख २६ हजार थियो । अघिल्लो त्रैमाससम्म दाबी भुक्तानी नगरेको कम्पनीले यस त्रैमाससम्म रू. १ करोड ७ लाख १३ हजार खुद दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब रहेको छ । 

कम्पनीले संस्थापकतर्फबाट मात्र उक्त रकम बराबरको पूँजी चुक्ता गरेको हो । सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गरी रू. १० अर्ब चुक्तापूँजी कायम गर्ने तयारी कम्पनीले गरेको छ । आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव कम्पनीले कात्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभामार्फत पारित गराइसकेको छ ।

चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ५ करोड १८ लाख २७ हजार र बीमा कोष रकम रू. ४८ लाख १९ हजार छ ।