नेप्सेमा बुधबार दुई कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेमा बुधबार दुई कम्पनीको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
मंसिर २२ गते बुधबार, नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको मूल्य समायोजन भएको छ।

यस दिन नेप्सेमा प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई समुन्नत स्किम १ को मूल्य समायोजन भएको हो। प्राइमले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ तथा ग्लोबल आइएमई समुन्नत स्किमले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस शेयर र ग्लोबल आइएमई समुन्नत स्किमको १०० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात प्राइमको शेयरमूल्य ३८१ रुपैयाँ ९० पैसा कायम भएको छ भने ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूलय १० रुपैयाँ ८८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार प्राइम कमर्सियल बैंकको शेयरमूल्य प्रतिकित्ता ४४३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने ग्लोबल आइएमई समुन्नत स्किमको इकाई प्रतिकित्ता २० रुपैयाँ ८८ पैसामा अन्तिम कारोबार भएको थियो।

प्राइम कमर्सियल बैंकले पुस ६ गते सोमबार बैंकको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा १४ औं वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

बुधबार यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरूको कारोबार खुल्नेछ।