महिला लघुवित्त बुधवार ५० प्रतिशत लाभांश पारित गर्दै

महिला लघुवित्त बुधवार ५० प्रतिशत लाभांश पारित गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७र७८ को मुनाफाबाट प्रस्ताव गरेको ५० प्रतिशत लाभांश मंसिर २२ गते बुधवार पारित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १० करोड रहेको छ । सोही पूँजीको आधारमा ५० प्रतिशत लाभांश यस वर्ष कम्पनीले वितरण गर्न लागेको हो । 

लाभांश प्रस्ताव सहित गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई पनि सभाले टुङ्ग्याउनेछ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक निर्वाचन समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिन बुक क्लोज गरेको छ । 

बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । २०७७ साल फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै आकर्षक लाभांश वितरण गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ८६ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ भने जगेडा कोषमा २२ करोड ८९ लाख रुपैयाँ भन्दा बढी रकम संचित छ । त्यस अवधिसम्म प्रतिशेयर आम्दानी ११४ दशमलव ७१ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ३२८ दशमलव ९४ रुपैयाँ छ ।