नेपाल राष्ट्र बैंकद्धारा ३३ करोड लाभांश बाँड्न साना किसान विकास लघुवित्तलाई स्वीकृति

नेपाल राष्ट्र बैंकद्धारा ३३ करोड लाभांश बाँड्न साना किसान विकास लघुवित्तलाई स्वीकृति


 बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ३२ करोड ९३ लाख ५० हजार २५८ रुपैयाँ बराबरको लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।

बैंकले मंसिर २० गते लघुवित्तले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश बाँड्न अनुमतिदिएको हो ।

यसअनुसार अब लघुवित्तलाई साधारण सभा आह्वान गरी प्रस्तावित लाभांश अनुमोदन गर्न बाटो खुल्नेछ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ३१ करोड २८ लाख ८२ हजार ७३५ रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि १ करोड ६४ लाख ६७ हजार ५१३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

संस्थाको मंसिर ८ गते, बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेर स्वीकृतिका लागि राष्ट्र बैंकको अनुमति माग्ने निर्णय गरेको थियो ।

लघुवित्तको प्रस्तावित लाभांश बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार ९८० रुपैयाँ रहेको छ । प्रस्तावित ३१ करोड २८ लाख ८२ हजार ५७४५ रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२५ रुपैयाँ पुग्नेछ ।

लघुवित्तले अघिल्लो आव २०७६/७७ बाट पनि चुक्ता पूँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।