कुमारी बैंकले सुरु गर्यो २ लाखसम्म मोबाइलबाटै ऋण लिन सकिने नेपाल कै पहिलो ईएमआईमा फोनलोन सेवा

कुमारी बैंकले सुरु गर्यो २ लाखसम्म मोबाइलबाटै ऋण लिन सकिने नेपाल कै पहिलो ईएमआईमा फोनलोन सेवा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले नेपाल मै पहिलो पटक ईएमआईमा फोनलोन सेवा सुरु गरेको छ । फोनलोन कर्जामा थप सुविधा दिनको लागी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट प्राइभेट लिमिटेड सँगको सहकार्यमा ईएमआई (EMI) मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको हो । 

ग्राहकलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुऱ्याउने हेतुले गतवर्ष देखि बैंकले फोनलोन सुविधा संचालनमा ल्याएको थियो । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले फोनलोन EMI सुविधा संचालनमा ल्याएको जनाएको छ।

कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु. १ हजार देखि अधिकतम रु. २ लाख सम्म कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।

यस सेवाको सुरुवात गर्दै बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने बताए । यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेट मा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यू आर स्क्यान (QR Scan) गरी सो को Buy Now, Pay Later अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने उनको भनाई छ। कुमारी बैंकका चिफ डिजिटल बैंकिंग अनिष ताम्राकारले आगामी दिनहरुमा यस फोनेलोअन लाई अझ बिस्तारित र विकसित गर्दै लगिने बताए ।

बैंकले आफ्ना देशव्यापी १९६ शाखा-संजाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिंग इकाई तथा १४ एक्टेन्सन काउन्टर मार्फत सेवा दिदै आएको छ।