४ अर्बको कारोबार हुँदा आज नेप्सेमा ७२ अंकको उच्च गिरावट

४ अर्बको कारोबार हुँदा आज नेप्सेमा ७२ अंकको उच्च गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
सेयर बजार सूचक मापक नेप्से आइतबार २.८० प्रतिशत अर्थात ७२.३० अंकले घटेको छ । कारोबारमा आएका अधिकांश कम्पनीको सेयरमूल्य घटेर सबै उपसमुहगत सूचक राताम्ये बनेपछि नेप्सेमा उच्च गिरावट आएको छ । कारोबारमा आउका २११ कम्पनीको मूल्य घटेको छ भने १२ को मात्र सेयरमूल्य बढेको छ । ३ कम्पनीको मूल्य स्थीर छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समीक्षापछि बजारको ओरालो यात्रा सुरु भएको थियो ।

आइतबार कारोबारमा आएका उपसमुहगत सूचकमध्ये फाइनान्स, ब्यापार र विकास बैंकको सूचक ४ प्रतिशतभन्दा धेरै घटेको छ भने जलविदूत, अन्य र लगानी सूचक पनि ३ प्रतिशशतभन्दा बढीले ऋणात्मक भएका छन् । म्युचुअल फण्डको सूचक सबैभन्दा कम १.५४ प्रतिशतले घटेको छ ।

आइतबार २२६ कम्पनीका ८९ लाख २० हजार ८९४ कित्ता सेयर ६० हजार ८८ वटा कारोबारबाट ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२५ रुपैयाँमा खरीद बिक्री भएको छ ।

यसदिन नेशनल हाइड्रोपावरले राइटब्याकबाट पौने ५९ करोड नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेपछि उच्च कारोबार भएको छ । कम्पनीको मात्र ६ लाख ९२ हजार ४४० कित्ता शेयर २८ करोड ६२ लाख ८४ हजार रुपैयाँमा खरीद बिक्री भएको छ ।

यस्तै हिमालयन डिष्टिलरीको १७.२३ करोड, नेपाल टेलिकम १६.८९ करोड, नबिल बैंक १६.०५ करोड, महालक्ष्मी विकास बै.क १२.२५ करोड र अपि पावरको ११.०६ करोडको शेयर कारोबारमा आएको छ ।

यसदिन न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घट्दा उक्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेय मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ । धितोपत्रको दोस्रो बजारमा हालै मात्र कारोबारमा आएको यस कम्पनीको शेयरको माग उच्च भएर बिक्रेताभन्दा क्रेता धेरै हुँदा बढेको हो ।

यस्तै नयाँ सारथी लघुवित्तको ४.०४ प्रतिशत, मैलुङ्गखोला जलविद्युत कम्पनीको ३.८१ प्रतिशत र युनिलिभर नेपालको ३.५६ प्रतिशतले मूल्य बढेको छ ।

यसदिन आईसीएफसी फाइनान्सको सेयरमूल्य सर्वाधिक ८.३२ प्रतिशत र सबैको लघुवित्तको ८.१७ प्रतिशतले घटेको छ । कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, पन्चकन्या माइ हाइड्रोपावर, मुक्तिनाथ विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर र पोखरा फाइनान्सको सेयर लगानीकर्ताले पनि ६ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।