सोमवार नेपाल बैंकको १७ % लाभांश सुरक्षित गर्ने अन्तिम दिन

सोमवार नेपाल बैंकको १७ % लाभांश सुरक्षित गर्ने अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले प्रस्ताव गरेको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर २० गते सोमवार अन्तिम दिन रहेको छ । 

बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रहेको छ । बोनस पश्चात यो पूँजी रू. १४ अर्र्ब ४० करोड ५९ लाख ४ हजार पुग्नेछ । 

प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरिएको छ ।

 उक्त साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।  बुक क्लोजको आधारमा बैंकका लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि मंसिर २० गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य हुने भएका हुन ।