लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर, ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न बैंकले पुस ९ गते, आफ्नो केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा जुम मिटिङ्ग मार्फत ११ः१५ बजेदेखि सञ्चालन गरिनेछ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।