काठमाडौं– अमेरिकी व्यवसायीक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको एसियाका ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिहरुको सूची ‘३० अन्डर ३०’ मा दुई नेपाली युवती परेका छन् । डिजिटल मेन्टल हेल्थ प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी र भेगन डेरी नेपालकी काजोल सेठिया परेका हुन् ।गिरीलाई सामाजिक रूपमा प्रभाव पार्न सक्ने व्यक्तिहरूको सूचीमा राखिएको छ। सेठियालाई भने कला श्रेणीमा राखिएको छ।
२८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् । गिरीले लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महामारी सुरू भयाे, यहीक्रममा उनले मानसिक स्वास्थ्य समस्या व्यहोरिन् ।
अध्ययन सकेर नेपाल फर्किएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरिन्। ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल रूपमा मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आएको छ। यो भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो । संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिन्छ।
सिङ्गपुरमा इन्जिनियरिङ गरेकी सेठिया ‘भेगन डेरी नेपाल ’ की सञ्चालक हुन् । प्राकृतिक सौन्दर्य तथा नयाँ-नयाँ कुराहरूको अनुभव गर्न मन पराउने सेठिया एक जनावर प्रेमी हुन्। उनकाे जनावर प्रतिकाे माया र उनीहरुलाइ दुःख दिन नपाए हुन्थ्यो भन्ने साेचबाट ‘भेगन डेरी नेपाल ’ सुरू भएकाे हाे । उनी भेगन डेरीमा जनावरबाट केही पनि नलिकन बनेको दुध, ध्यू , पनिर, बटर र अन्य सामानबाट व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।
प्रतिक्रिया