एशियाकै उत्कृष्ट बैंकको अवार्ड एनएमबि बैंकलाई

एशियाकै उत्कृष्ट बैंकको अवार्ड एनएमबि बैंकलाई


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड हात पार्न सफल भएको हो। 

बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको जनाएको हो । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले सबैको मेहेनत र विश्वासले बैंकले यो अवार्ड पाउन सफल भएको बताए । उनले भने, ‘यो १३ वर्षमा यसमा सबैको मेहनत र विस्वासले नै गर्दा एनएमबि बैंकले आज यो अवार्ड पाउन सफल भएको छ।’

बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले यो अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो । यस अवार्डको प्रतिष्पर्धामा एशियाका ४८ देशका बैंकहरु सहभागी भएका थिए । सहभागी सबैलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो । लन्डनबाट प्रकाशित हुने दि बैंकर म्यागजिनले यो वर्षका लागि एनएमबी बैंकलाई उक्त अवार्डका लागि छनोट गरेको हो । एनएमबी बैंकले बैंक अफ दि इयर एशियाको अवार्ड पाउनु आफैमा उत्कृष्ट भएको बताएको छ ।

\"\"

यसअघि २०१७ मा एनएमबी उक्त अवार्डका लागि नोमिनेशनमा परेका थियो । तर, विजेता बन्न सकेको भने थिएन । यसपालि, चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानलगायत मुलुकका कडा प्रतिस्पर्धी बैंकलाई पछि पार्दै एनएमबी एशियाकै उत्कृष्ट बैंक घोषित भएको हो ।

उक्त उपाधि बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट समस्त बैंकिङ क्षेत्रका तर्फबाट ग्रहण गरेका छन्। उपाधिका लागि बैंकलाई बधाइ दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए। 

सन् २००२ मा स्थापित ‘बैंक अफ दि इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ। यो पुरस्कारलाई विश्वभरका बैंकहरुको मूल्यांकन गर्ने र विश्वकै अग्रणी संस्थाका रुपमा मान्यता प्रदान गर्ने मानक रुपमा लिइन्छ। बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरु, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरु र प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमताजस्ता विभिन्न मापदण्डका आधारमा यो अवार्ड प्रदान गरिन्छ।