भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त


काठमाडौं – भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर नियुक्त गरिएको घोषणा गरेको छ। बंगलादेश र भियतनाममा बैंकिङ्ग र भुक्तानी सेवाको क्षेत्रमा २७ वर्षभन्दा बढीको अनुभव सँगालेका सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।

सब्बीर अहमदको नियुक्तिसँगै भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहोर्‍याएको छ। नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिस्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गर्दै आएको छ ।

‘भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको छ, यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा क्यूआर कोड स्क्यान गर्न र भिजा कार्डमार्फत भुक्तानी गर्न सहज बनाएको छ । भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।’ कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्नो नियुक्तिको अवसरमा भिजाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, ‘विश्वभर तथा नेपालमा डिजिटल भुक्तानीमा अग्रपंक्तिमा रहेको ब्राण्ड भिजामा सामेल हुन पाउँदा म उत्साहित छु । ग्राहकहरू, नियामक र नेपालको बृहत्तर इकोसिस्टमसँग साझेदारी गर्न म महत्वपूर्ण भूमिका खेल्न तत्पर छु। हामीले बंगलादेश र भुटानका लागि डिजिटल भुक्तानीमा पनि महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेका छौं । मलाई विश्वास छ कि हामीले उपभोक्ता र व्यवसायहरूका लागि नवीनतम डिजिटल पहिलो भुक्तानी समाधानहरू ल्याउन सक्छौं, जसले नेपाल र छेउछाउका बजारहरूमा डिजिटल भुक्तानीमा वृद्धि ल्याउनसक्छ ।’

भिजा इन्डिया र दक्षिण एसियाका ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोषले भने, ‘हामी नेपाल, बंगलादेश र भुटानका लागि सब्बीर अहमदलाई कन्ट्री म्यानेजरको रूपमा स्वागत गर्न पाउँदा खुसी छौं । सब्बीरको आफ्नो बलियो व्यावसायिक उपलब्धिहरू, विविध बैंकि अनुभव र गहिरो बजार सम्बन्धले हाम्रो नेतृत्वलाई बलियो बनाउने, व्यावसायिक उद्देश्यहरू अघि बढाउने र भिजाको लागि दिगो विकासलाई प्रोत्साहन गर्नेछ ।’

भिजा दुई सयभन्दा बढी देश र क्षेत्रमा उपभोक्ता, व्यापारी, वित्तीय संस्था, र सरकारी निकायहरू बीचको लेनदेनको सुविधा प्रदान गर्ने डिजिटल भुक्तानीमा विश्वकै अग्रणी संस्था हो ।