कालोसूचीमा पर्ने ऋणीहरुको संख्यामा उच्च वृद्दि

कालोसूचीमा पर्ने ऋणीहरुको संख्यामा उच्च वृद्दि


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर समयमा नतिर्नेको संख्या बढ्दो क्रममा देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कालोसूचीमा पर्ने ऋणीको संख्या ३८ प्रतिशत भन्दा धेरैले बढेको हो ।  कर्जासूचना केन्द्रका अनुसार गत आर्थिक वर्षमा कालोसूचीमा सूचीकृत ऋणीहरूको संख्या १६ हजार ९८७ जना छन् । अघिल्लो आर्थिक वर्षको यस्तो संख्या १२ हजार २९१ रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ छ । गत आर्थिक वर्षमा कुल वस्तु व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । यो ब्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ३२.८ प्रतिशत हो ।

आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा र शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । विसं २०७८ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड कायम भएको छ । बैंकिङ्ग क्षेत्रको विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब ७५ करोड रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी ९ खर्ब ७८ अर्ब ७४ करोड राजस्व संकलन भएको छ भने कुल सरकारी खर्च ११ खर्ब ८० अर्ब ९५ करोड रहेको छ । गत आवमा कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २६.३ प्रतिशतले बढेको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१.४ प्रतिशतले र ती संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरू मार्फत कुल ३ खर्ब ३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ भने कुल ६७ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको छ । गत आवमा वर्षमा ३ खर्ब ७० अर्ब ३४ करोडको स्थायी तरलता सुविधा उपयोग भएको छ ।

२०७८ असारमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपको भारित औसत ब्याजदर क्रमशः ८.४३ प्रतिशत र ४.६५ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको अन्तरबैंक ब्याजदर २०७८ असारमा ४.१२ प्रतिशत रहेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको अन्तर बैंक ब्याजदर ४.१४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति/दायित्व २३.४ प्रतिशतले वृद्धि भई ५३खर्ब ९२ अर्ब ५३ करोड, विकास बैंकहरूको २५.८ प्रतिशतले वृद्धि भई ५ खर्ब १८ अर्ब ३४ करोड र वित्त कम्पनीहरूको १.३ प्रतिशतले वृद्धि भई १ खर्ब २६ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति/दायित्व ३७ प्रतिशतले वृद्धि भई ४ खर्ब ४५ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ ।

गत आर्थिक वर्षमा निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७८ असार मसान्तसम्ममा १ खर्ब ४१ अर्ब कर्जा र ८ खर्ब ११ अर्ब ६२ करोड निक्षेप सुरक्षण गरेको छ । कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०७७/७८ मा २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्तकम्पनी र ७० लघुवित्त वित्तीय संस्थाले जम्मा ५२ लाख ८४ हजार ३६१ कर्जाको सूचना माग गरेका थिए ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने प्रक्रिया बमोजिम २०७८ असार मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा संलग्न भई ५८ संस्था कायम भएका छन् । समीक्षा वर्षमा मात्र “क”, “ख”, र “ग” वर्गका गरी ३३ संस्थाहरू एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई १२ बैंक तथा वित्तीय संस्था कायम हुनपुगेका छन् । उक्त अवधिमा भएका जम्मा २० वटा गाभ्ने/गाभिने तथा प्राप्तिमध्ये गाभ्ने/गाभिनेतर्फ १० र प्राप्तितर्फ १० रहेका छन् ।

सरकारको प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैंकको शाखा पु¥याउने लक्ष्यअनुरुप कुल ७५३ स्थानीय तह मध्ये २०७८ असार मसान्तमा ७५० स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ । त्यसैगरी, २०७८ असार मसान्तसम्ममा “क” वर्गका ४ हजार ७५३, “ख” वर्गका १ हजार २३, “ग” वर्गका २२२ र “घ” वर्गका ४ हजार ६८५ गरी बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या कुल १० हजार ६८३ पुगेको छ । प्रति बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट औसतमा करिब २ हजार ८४४ जनसंख्याले सेवा प्राप्त गर्नसक्ने देखिन्छ । साथै, शाखारहित बैंकिङ्ग सेवाको संख्या १ हजार ७०६ पुगेको छ ।

२०७७ असार मसान्तसम्म विभिन्न दरका गरी ५ खर्ब ८८ अर्ब ६ करोड बराबरका नोटहरू चलनचल्तीमा रहेकोमा २०७८ असार मसान्तसम्ममा १६.२३ प्रतिशतले वृद्धि भई चलनचल्तीमा रहेका कुल नोट ६ खर्ब ८३ अर्ब ५० करोड बराबरका छन् । आर्थिक वर्ष २०७७/७८ को अवधिमा आरटिजीएस प्रणाली मार्फत २० खर्ब ४४६ अर्ब ५५ करोड बराबरको नेपाली मुद्राको कारोबार भएको छ ।