२४.९६ प्रतिशतले घट्यो राष्ट्र बैंकको सञ्चालन नाफा

२४.९६ प्रतिशतले घट्यो राष्ट्र बैंकको सञ्चालन नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको सञ्चालन आम्दानी २४.९६ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेका वित्तीय विवरण अनुसार खुद संचालन आम्दानी अघिल्लो वर्षको तुलनामा २४.९६ प्रतिशतले ह्रास आई २४ अर्ब ७३ करोड ७ लाख २७ हजार रुपैयाँ कायम भएको छ ।

आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ को खुद संचालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ८८.२३ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ७.७ प्रतिशत र अन्य संचालन आम्दानीको अंश ४.०७ प्रतिशत रहेको छ । 

खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा २६.३७ प्रतिशतले ह्रास आई  २१ अर्ब ८२ करोड ६ हजार रुपैयाँ कायम भएको छ भने विदेशी विनिमय खरिदबिक्रीबाट हुने आम्दानी ११.११ प्रतिशतले वृद्धि भई १ अर्ब ९० करोड ३८ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, अन्य आम्दानीमा ३५.५१ प्रतिशतले ह्रास आई ९३ करोड ६९ लाख ८६ हजार रुपैयाँ कायम भएको छ भने शुल्क तथा कमिसनतर्फ अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा १०५.७१ प्रतिशतले खुद आम्दानीमा कमी आई ८२ लाख ९८ हजार रुपैयाँ खुद नोक्सानी कायम भएको छ । 

आर्थिक वर्ष २०७७÷७८ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ-हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ३१.३९ प्रतिशतले ह्रास आई १९ अर्ब ३५ करोड ६४ लाख ७० हजार रुपैयाँ कायम भएको छ । 

यस्तो खुद आय आर्थिक वर्ष २०७६/७७ मा  २८ अर्ब २१ करोड १३ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।  समीक्षा वर्षको विदेशी विनिमय पुनर्मूल्याङ्कन लाभ ८ अर्ब १९ करोड २२ लाख ११ हजार रुपैयाँ र सुन तथा चाँदी पुनर्मूल्याङ्कन लाभ ३ अर्ब ६९ लाख २८ हजार  रुपैयाँ समायोजन पश्चात् खुद आय ३० अर्ब ५५ करोड ५६ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

गत वर्ष खुद आय  १ खर्ब ७ अर्ब ९४ करोड ६१ लाख २४ हजार रहेको थियो ।  समीक्षा वर्षमा अन्य विस्तृत आय-व्यय पश्चातको कुल विस्तृत आय ३२ अर्ब ५५ करोड १५ लाख ३९ हजार रुपैयाँ रहेको छ । अघिल्लोवर्ष कुल विस्तृत आय १ खर्ब ९ अर्ब ४५ करोड २१ लाख ४० हजार रुपैयाँ रहेको थियो ।