१५ गुणाभन्दा तल झर्यो ७ बैंकको पिइ रेशियो, लगानीमा कम जोखिम भएकाे संकेत

१५ गुणाभन्दा तल झर्यो ७ बैंकको पिइ रेशियो, लगानीमा कम जोखिम भएकाे संकेत


बैंकिङ्ग समाचार, काठमाडौं ।
शेयर बजारमा सूचीकृत भएका कम्पनीहरुको शेयरमूल्य घट्दै जाँदा ती कम्पनीहरुको शेयरमा गरिने लगानीमा जोखिम समेत कम हुँदै गएको छ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत धेरै कम्पनीहरुको शेयरमूल्य अहिले उच्च विन्दुबाट धेरै तल झरीसकेको अवस्था छ। यसरी कम्पनीहरुको शेयरमूल्य घट्दै जाँदा शेयर बजारमा प्रयोग हुने कतिपय सूचकहरुले ती कम्पनीहरुमा गरिने लगानीमा कम जोखिम देखाउन थालेका छन्।

सोमाबारसम्मको तथ्याँकलाई आधारमान्दा सूचीकृत कम्पनीहरुमध्ये १५ वटा कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणाभन्दा कम रहेको छ। जसमा ७ वटा वाणिज्य बैंक रहेका छन्।

अहिले नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकहरुमध्ये ७ वटा बैंकको मूल्य आम्दानी अनुपात १५ गुणाभन्दा कम छ। जसमा मेगा बैंकको सबैभन्दा कम १२.९ गुणा रहेको छ भने सिद्धार्थ बैंकको १३.४४ गुणा, माच्छापुछ्रे बैंकको १३.८२ गुणा, सिटिजन्स बैंकको १४.३१ गुणा, एनसिसि बैंकको १४.५९ गुणा, एनएमबि बैंकको १४.६३ प्रतिशत र लक्ष्मी बैंकको १४.७८ गुणा रहेको छ।

यसैगरी अन्य कम्पनीहरुमा रिडि हाइड्रोपावरको मूल्य आम्दानी अनुपात सबैभन्दा कम २.६९ गुणा रहेको छ। रैराङ हाइड्रोपावरसँगको मर्जरको कारण उसको शेयर कारोबार अहिले रोक्का छ। यस्तै बेष्ट फाइनान्सको ८.७१ गुणा छ भने बोटलर्स नेपाल –तराई) को ९.४२ गुणा, पाँचथर पावरको ११.४१ गुणा, सानिमा माई हाइड्रोपावरको १२.०२ गुणा, माउन्टेन हाइड्रोको १२.०८ गुणा र आँधीखोला लघुवित्तको १२.४५ गुणा रहेको छ।

कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको शेयरमूल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर मूल्य आम्दानी अनुपात निकाल्ने गरिन्छ। यसले कम्पनीले गरिरहेको प्रतिशेयर आम्दानीलाई लगानीकर्ताले कति मूल्य तिरिरहेका छन् भन्ने देखाउँछ। सामान्यतया मूल्य आम्दानी अनुपात कम रहेका कम्पनीहरुमा गरिएको लगानी कम जोखिमपूर्ण मानिन्छ। १५ गुणाभन्दा कम मूल्य आम्दानी अनुपात भएका कम्पनीहरुमा लगानी गर्नु कम जोखिम मानिन्छ।

शेयर बजार बढेर ३२ सय हाराहारी पुग्दा अधिकाँश कम्पनीहरुको मूल्य आम्दानी अनुपात १५ गुणाभन्दा माथि पुगेको थियो। तर अहिले शेयर बजार सुस्ताएसँगै कम्पनीहरूकाे शेयरमूल्य पनि घटेको छ। यसले गर्दा मूल्य आम्दानी अनुपात विस्तारै झर्न थालेको हो। 

गत भदौ २ गते हालसम्मकै उच्च विन्दु ३१९८ पुगेको नेप्से सूचक सोमबारसम्ममा घटेर २६२९ विन्दुमा झरेको छ।